विश्वविद्यालय अनुदान आयोग, नेपालको आयोजना तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको व्यवस्थापनमा क्यू.ए.ए. प्राप्त क्याम्पसहरूका लागि दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको बुधबार समुद्घाटन भएको छ । गुणस्तर अभिवृद्धि, वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक गुणस्तर सुनिश्चितता सम्बन्धी म्यानुअल र स्वअध्ययन प्रतिवेदन सम्बन्धी यही मिति २०८२ पौष ९ र १० गते सञ्चालन हुने दुई दिवसीय अभिमुखिकरण कार्यक्रमको विश्वविद्यालय अनुदान आयोगका निर्देशक डा. केदारप्रसाद आचार्यले समुद्घाटन गर्नुभएको थियो ।

उद्घाटनकै क्रममा उहाँले विद्यार्थीहरुको ड्रप आउटलाई मध्येनजर गर्दै सरकारदेखि तलसम्म उच्च शिक्षामा आमुल परिवर्तन गर्नु पर्ने बताउनु भएको र उक्त विषय नेपाल सरकार र विश्वविद्यालय अनुदान आयोग विच समन्वय भएको बताउनु भएको थियो । साथै उहाँले नयाँ किसिमका शैक्षिक कार्यक्रमहरुको आवश्यकता रहेको समेत बताउनु भएको थियो । उहाँले दुई दिवसीय कार्यक्रम फलदायी हुने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले शिक्षकले दिएको ज्ञानले विद्यार्थीको भविष्यका साथै राज्यको उज्ज्वल भविष्यको तय गर्ने बताउनु भएको थियो । विद्यार्थीहरुलाई क्षमतावान् बनाउनु हाम्रो दायित्व भएका कारणले शिक्षकको कमाई भनेकै सेवा हुने कुरामा जोड दिनुभएको थियो ।
विश्वविद्यालय अनुदान आयोगका उप–निर्देशक भगवति पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै उच्च शिक्षालयमा गुणस्तरीता बढाउने, आन्तरिक गुणस्तरका क्षेत्रमा विशेष छलफल गरिने बताउनु भएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई शब्दद्वारा स्वागत् गर्दै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले दुई दिनको कार्यक्रमले हामीलाई उच्च शिक्षामा थप विकास गर्न महत्वपूण हुने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्यू.ए.ए. प्राप्त २५ वटा क्याम्पसहरुका क्याम्पस प्रमुख सहित करिब ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालनको भूमिकामा शिक्षक मनोरन्ज शर्मा रहनुभएको थियो भने विश्वविद्यालय अनुदान आयोगका निर्देशक डा. केदारप्रसाद आचार्य, उप–निर्देशक भगवति पौडेल, सहायक निर्देशक नारायणप्रसाद भण्डारी र नविना चौलागाईले सहजीकरण गर्नुहुनेछ ।