गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा घटना निदान तथा विश्लेषण प्रतियोगिता “Case Diagnosis and Analysis Competition” कार्यक्रमको बुधबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि श्रीराम सुवेदीले उद्घाटन गर्नुभएको छ ।

विद्यार्थीलाई ज्ञानको हस्तान्तरण तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रम वैशाख १३ र १४ गते सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिन विद्यार्थीहरुलाई दिइएको केसको समूहमा छलफल गरी डायोग्नेसिस गरी बुझाएका छन् भने दोस्रो दिन विद्यार्थीले उक्त डायग्नोसिस गरेको केसको समुहगत प्रस्तुतीकरण गर्नेछन् । समुहगत प्रस्तुतीकरण पश्चात् विज्ञहरुले पृष्ठपोषण दिने र उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिनेछ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय, स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीविच प्रतिस्पर्धा गरिने उक्त कार्यक्रममा कास्की र तनहुँका क्याम्पसका ३/३ जना विद्यार्थी सहभागी भएका छन् । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले विद्यार्थी तथा शिक्षकहरुको बौद्धिक विकासका लागि क्याम्पसले विभिन्न कार्यक्रमहरु आयोजना गरिने साथै भविष्यमा समेत यस्ता प्रकृतिका क्रियाकलापहरु गर्दै जाने विषयमा जोड दिनुभएको थियो ।

विशेष अतिथिको मन्तव्य राख्दै आदिकवी भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थी–विद्यार्थी र क्याम्पस–क्याम्पस विच सौहार्द सम्बन्ध राख्न सहायक सिद्ध हुने विषयमा जोड दिनुभएको थियोे । साथै उहाँले गुप्तेश्वर क्याम्पसले यस क्षेत्रमै पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरेकोमा साधुवाद व्यक्त गर्नुभएको थियो । विशेष अतिथिका रुपमा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख धु्रव बुढाथोकीले विद्यार्थीहरुले प्रश्नका उत्तरमा आफ्ना सिद्धान्तसँग जोडेल लेख्नुपर्ने विषयमा जोड दिनुभएको थियो साथै यस्ता प्रतियोगिताले विद्यार्थीलाई अनुसन्धान लेखनका लागि सहजता प्रदान गर्ने बताउनु भएको थियो ।

क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको अध्यक्षता गुणस्तर सुनिश्चितता समितिका प्रमुख तथा कार्यक्रमका संयोजक श्री राजकुमार सुवेदीेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बाह्य सम्बन्ध विस्तार समितिका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो ।