पोखरा – नेपाल एसबीआई बैंक पोखरा शाखाको आयोजना तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको व्यवस्थापनमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गुप्तेश्वर महादेव गुफास्थित सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल एसबीआई बैंक न्युरोड शाखाका प्रबन्धक तथा सृजनाचोक शाखाका प्रबन्धकले सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा छोरेपाटन क्षेत्रका विभिन्न आमा समूहका पदाधिकारी तथा प्रतिनिधि सदस्यहरूका साथै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंक खाता खोल्ने प्रक्रिया, खाताको सञ्चालन, मोबाइल बैंकिङको प्रयोग तथा त्यसक्रममा अपनाउनुपर्ने सावधानीहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई पर्न सक्ने सम्भावित जोखिमहरूबारे पनि सहभागीहरूलाई सचेत गराइएको थियो।

करीब १२० जना सहभागी रहेको उक्त कार्यक्रमको संयोजन क्याम्पसका इओसी संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो। कार्यक्रमको समापनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समिति (IQAC) प्रमुख राजकुमार सुवेदीले मन्तव्य राख्नुभएको थियो।