पोखरा, बैशाख १० गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.विच सहकार्य गर्नका लागि सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष डा. केशब शर्मा र क्याम्पस प्रमुख धर्मराज बरालले हस्ताक्षर गरी उक्त सम्झौता गर्नुभएको थियो ।

सम्झौतामा क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरुलाई हस्पिटलले प्रवाह गर्ने सेवा सुविधामा छुट प्रदान गरिने भएको छ । एम्बुलेन्स सेवा, परामर्श सेवा, औषधी खरिद, ल्याब सुविधामा र हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विशेष छुटको व्यवस्था गरिएको छ ।

क्याम्पसमा समय समयमा स्वास्थ्य परामर्श सेवा समेत उक्त हस्पिटलले प्रदान गरिने व्यहोरा सम्झौतामा उल्लेख गरिएको छ । अनुसन्धानका क्षेत्रमा समेत आ–आफ्ना अनुभवहरु साटासाट गरिने बताइएको छ । क्याम्पसबाट उत्पादित जनशक्तिलाई अस्पतालले रोजगारीमा प्राथमिकता दिने समेत सहमति भएको थियो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. शर्माले अस्पताल सेवा व्यवसाय मात्र नभइ सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएकाले उक्त अस्पताल सबैका लागि भएको बताउनु भएको थियो ।
क्याम्पस सञ्चालक समितिका सदस्य ज्ञाज शर्माले अस्पताल र क्याम्पस विच नङ र मासुको जस्तै सम्बन्ध बन्दै जानेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भएको उक्त कार्यक्रमको सञ्चालन इ.ओ.सी. प्रमुख दुर्गानाथ पौडेलले गर्नुभएको थियो ।