पोखरा, चैत्र २१ गते । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि २० दिने बेकरी तालिमको शुभारम्भ भएको छ । Non-credit Course अन्तर्गत सीप सिकौ, आत्मनिर्भर बनौ भन्ने मुल आशयका साथ प्रारम्भ भएको उक्त तालिममा ३० जना विद्यार्थीको सहभागीता रहनेछ ।
कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री श्रीराम सुवेदीले क्याम्पसले सीप मुलक तालिमहरु निरन्तर सञ्चालन गर्दै क्याम्पसका विद्यार्थीहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन प्रयत्न गर्ने कुरा बताउनु भएको थियो । साथै उहाँले सैद्धान्तिक ज्ञानका साथ व्यवहारिक ज्ञानको आवश्यक पर्ने कुरामा जोड दिनुभएको थियो । विद्यार्थीलाई बजारको माग अनुसार दक्षजनशक्ति उत्पादन गर्ने किसिमका तालिमहरुको माग गर्न प्रोत्साहन गर्नुभएको थियो ।
Non-credit Course समितिका संयोजक शिक्षक श्री गुप्तबहादुर क्षेत्रीको संयोजकत्वमा भएको कार्यक्रममा उहाँले यस तालिमबाट सिकेका कुरा भोलिका दिनमा जिविकोपार्जन गर्न समेत मद्दत पुग्ने कुरा बताउनु भएको थियो । वी.एच.एम. कार्यक्रमका संयोजक श्री जितेन्द्र थापाले उक्त २० दिनको तालिमका बारेमा पृष्ठपोषण गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत् मन्तव्य सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन Non-credit Course समितिका सदस्य शिक्षिका विद्या रेग्मीले गर्नुभएको थियो ।