पोखरा, भाद्र १२, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा रहेको विद्यार्थीहरुको साझा मञ्च गुप्तेश्वर सिर्जनशिल मञ्चद्वारा आयोजना गरिएको अन्तर विद्यालय ं२ स्तरीय फुटसल प्रतियोगिता मंगबारदेखि सुरु भएको छ । कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गर्नुहुदै उहाँले यस्ता कार्यक्रमले विद्यालय र क्याम्पस विच सौहार्दता बढ्ने बताउनु भएको थियो । स्वास्थ्यको लागि समेत विद्यार्थीहरुलाई खेलको महत्व रहेको विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथिका रुपमा रहनुभएका क्याम्पस प्रमुख धर्मराज बरालले सिर्जनशिल मञ्चका यस्ता कार्यक्रममा सदैव क्याम्पसले सहयोग गर्ने विषयमा जोड दिनुभएको थियो । उहाँले विद्यार्थीले अध्ययनका साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीका क्षमता, कलालाई क्याम्पसले सधै उजागर गर्ने अवसर दिने बताउनु भएको थियो ।
भाद्र १२ गतेदेखि १४ गतेसम्म तीन दिन सञ्चालन हुने उक्त कार्यक्रममा पोखराका २२ समुहले सहभागीता जनाएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई क्रमशः ३० हजार र १५ हजार नगद सहित प्रमाण–पत्र साथै ट्रफि मेडल प्रदान गरिने अतिरिक्त क्रियाकलाप संयोजक दुर्गानाथ पौडेलले जानकारी दिनुभएको थियो ।
गुप्तेश्वर सिर्जनशिल मञ्चका अध्यक्ष शिवम् शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले विद्यार्थी विच भाइचाराको सम्बन्ध बढाउन साथै विद्यार्थीका क्षमता, सिपलाई प्रस्फुटन गर्नका लागि विद्यार्थी मञ्च सधै साथ रहने विषयमा जोड दिनुभएको थियो । साथै उहाँले क्याम्पसको विकासको लागि विद्यार्थी मञ्च सधै साथमा रहेको बताउनु भएको थियो ।
कार्यक्रममा स्वागत् मन्तव्य विद्यार्थी मञ्चका सह–सचिव प्रवेश ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यार्थी मञ्चका सचिव स्मृति थापाले गर्नुभएको थियो ।