पोखरा, भाद्र–५, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, छारेपाटन र गौरीशंकर बहुमुखी क्याम्पस, हेम्जा विच क्यू.ए.ए. सम्बन्धी विषयमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले क्यू.ए.ए.ले क्याम्पसलाई व्यवस्थित गर्ने र नियमन गर्ने विषयमा जानकारी गराउनु भएको थियो । साथै उहाँले क्याम्पसको पहिलेको अवस्था र क्यू.ए.ए. पछिको वर्तमान अवस्थाको बारेमा बताउनु भएको थियो ।
गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, शिक्षक र विद्यार्थी प्रतिनिधिहरुले समेत गौरीशंकर बहुमुखी क्याम्पसले पनी क्यू.ए.ए. प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन गएकाले सो सम्बन्धी जिज्ञासाहरु राख्नु भएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले क्यू.ए.ए. को प्रक्रियाको थालनी र गर्नुपर्ने क्रियाकलापका बारेमा आफ्नो अनुभव राख्नु भएको थियो । साथै उहाँले क्यू.ए.ए. प्रक्रिया अघि बढाउनका लागि आवश्यक सूचाङ्कको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख रामजीप्रसाद पौडेल, आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीले समेत विभाग तथा सेलहरुले गर्नुपर्ने क्रियाकलापको बारेमा आफ्नो अनुभव राख्नु भएको थियो । कार्यक्रममा स्वागत् तथा सहजीकरण सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्दै क्यू.ए.ए. प्राप्तिका अनुसन्धानात्मक क्रियाकलाप, एस.एस.आर. प्रतिवेदन तयार गर्दाका अनुभवहरु राख्नु भएको थियो ।