पोखरा, बैशाख २७ गते आइतबार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको १६औं साधारण सभा तथा छैटौ अधिवेशन कार्यक्रम आइतबार सम्पन्न भएको छ । क्याम्पसका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा. टंकराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले क्याम्पसले अनुसन्धानको क्षेत्रमा प्रगति गरेको देख्दा आफुलाई खुसी लागेको कुरा व्यक्त गर्नुभएको थियो । उहाँले क्याम्पस शैक्षिक केन्द्रको रुपमा स्थापित हुदै गएको बताउनु भएको थियो । क्याम्पसले भौतिक विकासका साथ नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा जोड दिनुपर्ने कुरा समेत उहाँले बताउनु भएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा उहाँले क्याम्पस सामुदायिक भएकाले समुदायसँगै साथमा अघि बढदै गएको बताउनु भएको थियो । नयाँ बन्ने समितिले क्याम्पसलाई शिरोधार्य गरी सवैको साथ सहयोगमा अघि बढ्दै जानु पर्ने कुरामा जोड दिनुभएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसका गतिविधि समेटिएको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष युवराज लामिछानेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा १७ का पूर्व वडा अध्यक्ष तीर्थराज अधिकारी, पोखरा–१७ का कार्यवाहक अध्यक्ष विक्रम गुरुङ, पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा. भूपति ढकाल ‘‘कमल’, प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण बास्तोला, सल्लाहकार तीर्थराज अधिकारीले प्रतिवेदन माथि प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वार्षिक तथा आर्थिक प्रतिवेदनमाथि संस्थापक संदस्यहरु ऋषभ तिमिला, लक्ष्मण थापा, चिजकाजी गुरुङ, साथै क्याम्पस सिनेटर भेषराज बराल, कृष्ण लम्साल, राजन अधिकारी, ई. बाबुराम बराल, घनश्याम तिवारीले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता हरिराज पोख्रेल र सदस्यद्वय नरनाथ बराल र चिजकाजी गुरुङले सञ्चालक समिति चयन गर्नका लागि आवश्यक प्रक्रिया सम्पन्न गर्नुभएको थियो । साधारण सभाले अध्यक्षमा ज्ञाज शर्मा र सदस्यहरुमा ईश्वरीप्रसाद लम्साल, बिन्दु कार्की, कृष्ण लम्साल, नारायणप्रसाद बराल र दिपकराज बराललाई चयन गरेको थियो । चयन हुनुभएका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता हरिराज पोख्रेलले सपथ ग्रहण गराउनु भएको थियो ।
अध्यक्षमा चयन हुनुभएका ज्ञाज शर्माले क्याम्पसको बिकासका लागि सबैलाई साथमा लिएर अघि बढ्ने साथै क्याम्पसको हितका लागि आफुले सदैव सल्लाह सुझाव लिएर अघि बढ्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।