पोखरा, असार १४
विद्यालय शिक्षालाई सूचना प्रविधिमैत्री, आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यले ‘From Chalkboards to Chatbots’ शीर्षकमा एकदिने शैक्षिक अन्तरक्रिया तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोग (UGC), नेपालको सहयोगमा आयोजित कार्यक्रममा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विभिन्न विषयका संयोजकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका निवर्तमान अध्यक्ष
प्रा. डा. देवराज अधिकारी रहनु भएको थियो भने, विशिष्ट अतिथि तथा प्रमुख सहजकर्ताका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका निवर्तमान डिन प्रा. डा. डिल्लीराज शर्मा रहनु भएको थियो। त्यसैगरी काठमाण्डौ विश्वविद्यालयका सहाप्राध्यापक डा. भरतप्रसाद न्यौपाने र आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले पनि सहजीकरण गर्नुभएको थियो।
क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले कृत्रिम बुद्धिमत्ता (AI) ले शिक्षा क्षेत्रमा तीव्र परिवर्तन ल्याइरहेको सन्दर्भमा शिक्षकहरूको डिजिटल क्षमता अभिवृद्धि गर्न तथा एआईलाई जिम्मेवार र प्रभावकारी रूपमा कक्षा शिक्षणमा प्रयोग गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
प्रमुख अतिथि प्रा. डा. देवराज अधिकारीले विश्वव्यापी रूपमा शिक्षाको स्वरूप तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै नेपालका विद्यालय र उच्च शिक्षण संस्थाले पनि समयअनुकूल प्रविधिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले एआईलाई शिक्षकको विकल्पका रूपमा नभई शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, सिर्जनशील र अनुसन्धानमुखी बनाउने सहयोगी साधनका रूपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि प्रा. डा. डिल्लीराज शर्माले एआईको प्रयोगसँगै शैक्षिक गुणस्तर, शैक्षिक नैतिकता तथा आलोचनात्मक सोचलाई सन्तुलित रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरूले प्रविधिलाई केवल प्रयोग गर्ने मात्र नभई त्यसको सीमितता, विश्वसनीयता र जिम्मेवार प्रयोगबारे पनि विद्यार्थीलाई सचेत गराउनुपर्ने बताउनुभयो।
सहजकर्ता डा. भरतप्रसाद न्यौपानेले एआईमा आधारित विभिन्न शैक्षिक उपकरणहरूको प्रयोग, पाठ योजना निर्माण, सिकाइ सामग्री विकास, प्रश्नपत्र तयारी, मूल्याङ्कन तथा अनुसन्धानमा एआईको उपयोगबारे व्यावहारिक प्रस्तुति दिनुभएको थियो। त्यसैगरी महाप्रसाद हड्खलेले विद्यालय र क्याम्पस तहमा एआईको प्रयोगबाट शिक्षणलाई विद्यार्थीकेन्द्रित, अन्तरक्रियात्मक तथा प्रभावकारी बनाउन सकिने विभिन्न अनुभव र अभ्यासहरू प्रस्तुत गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष ज्ञाज शर्माले प्रविधिमैत्री शिक्षाको विकासका लागि शैक्षिक संस्थाहरूबीच सहकार्य, शिक्षकहरूको निरन्तर क्षमता विकास तथा नवीन प्रविधिको जिम्मेवार प्रयोग अपरिहार्य भएको बताउनुभयो। उहाँले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले आगामी दिनमा पनि विद्यालय तथा उच्च शिक्षासँग सम्बन्धित यस्ता समयसान्दर्भिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा विषय संयोजकहरूले विद्यालय शिक्षामा एआईको प्रभावकारी प्रयोगसम्बन्धी नवीन ज्ञान, सीप र व्यवहारिक अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले शिक्षण–सिकाइ प्रक्रियालाई थप गुणस्तरीय, सिर्जनात्मक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक प्रकाशचन्द्र गिरी ले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ताकोग सुरक्षित, नैतिक र प्रभावकारी प्रयोगका माध्यमबाट शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।