पोखरा, जेठ २३ शनिबार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, नेपालको आर्थिक सहयोगमा शिक्षण गुणस्तर अभिवृद्धिका लागि तीन दिवसीय तालिम प्रारम्भ भएको छ । अनुसन्धान क्षमता, सुदृढीकरण, पाठ्यक्रम सम्बन्धी दक्षता तथा पेशागत विकासका लागि आयोजना गरिएको कार्यक्रम शनिबार प्रारम्भ भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञाज शर्माले परिवर्तित समयअनुसार शिक्षण सिकाइमा समेत परिवर्तन आउनु पर्ने बताउनु भएको थियो । साथै उहाँले शिक्षण सिकाइका सामग्रीहरु समेत नयाँ नयाँ प्रविधि भित्रिएकाले सोहि बमोजिम विद्यार्थीलाई शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । अनुसन्धानात्मक कार्यहरुलाई समयानुकुल बनाउदै लानु पर्ने तथा क्षमता, दक्षता र सिप अभिवृद्धिका कार्यक्रमहरु गर्दै जाने कुरा राख्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शिक्षण सिकाइमा अनुसन्धानलाई पनि जोड्न अनिवार्य भएको वताउनु भएको थियो । उहाँले क्याम्पसमा अनुन्धानमूलक तथा क्षमता अभिवृद्धिका लागि पर्याप्त कार्यक्रमहरु सञ्चालन भएकोमा खुसी भएको बताउनु भएको थियो ।

प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले गुप्तेश्वर महादेव गुफाले स्थापना गरेको क्याम्पस आज शैक्षिक केन्द्रका रुपमा स्थापित हुदै जादा खुसी लागेको कुरा व्यक्त गर्नुभएको थियो ।

क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले अतिथिहरुलाई शब्दद्वारा स्वागत् गर्दै तालिमको प्रभावबाट हाम्रा कक्षाहरु प्रविधिमैत्री बन्दै अध्यापनमा अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।

कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेश मानन्धरले सामुदायिक क्याम्पसहरु एकअर्कासँग समन्वय गर्दै असल अभ्यासको अनुकरण गर्दै शिक्षालाई गुणस्तरीय बनाउदै जानुपर्ने कुरामा जोड दिनु भएको थियो ।

क्याम्पसमा अवस्थित अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा उहाँले अनुसन्धान कार्यमा शिक्षकहरुको रुची बढ्दै गएको बताउनु भएको थियो । हामिले सिकेका कुराहरु अध्यापनका समयमा प्रयोग गरि शिक्षण सिकाइलाई शसक्त बनाउन सकिने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा सहजीकरणका लागि विज्ञका रुपमा प्रा.डा. विकासकुमार के.सी., प्रा.डा. मिन पुन, उत्तम अर्याल, रेशमलाल पौडेल र मोहन भण्डारी रहनु हुनेछ ।

कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, आदिकवि भानभक्त क्याम्पस, कालिका बहुमुखी क्याम्पस, कन्या क्याम्पस पोखरा, जनप्रकाश बहुमुखी क्याम्पस र वालिङ्ग बहुमुखी क्याम्पसका शिक्षकहरुको सहभागीता रहेको छ । कार्यक्रमको सञ्चालन शिक्षक प्रकाशचन्द्र गिरीले गर्नुभएको थियो ।