पोखरा, फागुन १५ गते, विहिबार । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा एक दिवसीय लैङ्गिक हिंसा विरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम छोरेपाटन मा.वि.को सभाहलमा सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख धर्मराज बरालले कार्यक्रमलाई शुभकामना व्यक्त गर्र्दै व्यक्ति, परिवार र समाजमा हुने महिला पुरुषका हिंसालाई न्यूनीकरण गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो । यो कार्यक्रमले विद्यार्थीहरुलाई सवै किसिमका हिंसाहरुबाट सचेत हुनका लागि प्रेरणा जगाउने कुरा राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकको भूमिकामा जिल्ला प्रहरी कार्यालय, कास्कीका महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिक शाखा प्रमुख प्रहरी निरिक्षक शिवा थापा रहनु भएको थियो । उहाँले लैङ्गिक हिंसा, हिंसाका कारणहरु, त्यसका प्रभावहरु, हिंसा सम्बन्धि कानूनी प्रावधानहरु, हिंसा रोकथामका लागि अपनाउनु पर्ने उपायहरु तथा उजुरी गर्ने व्यवस्थाका बारेमा बताउनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै छोरेपाटन मा.वि.का प्रधानाध्यापक डिल्लीराम शर्माले यस्ता किसिमका कार्यक्रमले विद्यार्थीहरुमा लैङ्गिक हिंसाका बारेमा पर्याप्त जानकारी भएको साथै यस्ता कार्यक्रमले समाजमा अनुशासन कायम गर्न सकारात्मक भूमिका खेल्ने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र छोरेपाटन मा.वि.का विद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरिक्षक हुतराज रोका र क्याम्पसको तर्फबाट शिक्षक रामजीप्रसाद पौडेलले समन्वय गर्नुभएको थियो ।