पोखरा, मंसिर १७, आदिकवी भानुभक्त क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस विच बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकार्यका लागि सम्झौता भएको दुई क्याम्पस विच एक– अर्काका असल अभ्यास आदान–प्रदान गर्ने उद्देश्य रहेको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा करिब ३० जनाको सहभागीता रहेको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले दुई क्याम्पस विच भएका गतिविधिहरु सार्वजनिक गर्दा आफ्ना सबल तथा दुर्बल पक्ष पहिचान हुने र आगामी दिनमा काम गर्न निकै सहज हुने बताउनु भएको थियो । साथै उहाँले दुई क्याम्पस विच धैरै कार्यमा सहकार्य हुँदै आइरहेकाले यसलाई भविष्यमा समेत निरन्तरता दिदै आउनु पर्ने बताउनु भएको थियो ।
आदिकवी भानुभक्त क्याम्पसका अध्यक्ष केशबहादुर सुनारले नीति निर्माण, भौतिक निर्माण लगायत क्याम्पस सञ्चालनका लागि गरिएको अभ्यासबारे आफ्ना अनुभवहरु राख्नु भएको थियो । त्यसै गरी सोहि क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले आदिकवी भानुभक्त क्याम्पसले आफुले सहकार्यका लागि सम्झौता गरेका क्याम्पसहरुको भ्रमण गरी असल अभ्यासहरुलाई अनुशरण गर्ने भ्रमणको उद्देश्य रहेको बताउनु भएको थियो साथै उहाँले सामुदायिक क्याम्पसहरु अब मानित विश्वविद्यालय बन्नका लागि अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा टेण्डर प्रक्रिया, खरिद प्रक्रिया, छात्रवृत्ति छनोट विधि, शिक्षक तथा कर्मचारी छनोट विधि, अध्ययन अध्यापन, विद्यार्थी भर्ना लगायत समग्र क्याम्पस सञ्चालन सम्बन्धी आ–आफ्ना अनुभवहरु आदान–प्रदान गरिएका थिए ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको बारेमा आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीले क्याम्पसका गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट उपाध्यक्ष ऋतुनाथ लम्साल, कोषाध्यक्ष युवराज लामिछाने ‘‘युवक’’, खरिद उप–समितिका संयोजक ईश्वरीप्रसाद लम्साल, निर्माण उप समितिका संयोजक उत्तम सिग्देल, सञ्चालक समितिका सदस्य ज्ञाज शर्मा र राजन अधिकारीले आ–आफ्ना अभुभवहरु राख्नु भएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत् गर्दै क्याम्पस प्रमुखको तर्फबाट सामुदायिक क्याम्पसका चुनौती, सम्भावना र आफ्ना अनुभवहरु राख्दै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यसै गरी आदिकवी भानुभक्त क्याम्पसको तर्फबाट उपाध्यक्ष श्रीराम कार्की, आर्थिक समिति संयोजक, चिजबहादुर दरै, खरिद समिति संयोजक ठाकुर दरै, निर्माण समिति संयोजक क्या. सोमबहादुर थापा, पुस्तकालय समिति संयोजक कुलबहादुर थापा, सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी, विश्वेश्वर तिमिल्सीना र बिमल गिरीले आ–आफ्ना अनुभवहरु राख्नुभएको थियो ।