पोखरा वैशाख २५, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अवस्थित युवा रेडक्रस सर्कल र नेपाल रेडक्रस सोसाइटी, उपशाखा १७ को संयुक्त आयोजना तथा गुप्तेश्वर सिर्जनसिल मञ्चको सहकार्यमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले डेभिजफल क्लबका अध्यक्ष बिनम गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसले सामाजिक कार्यमा आफ्ना कार्यहरु गर्दै आएको बताउनु भएको थियो ।
कार्यक्रम युवा रेडक्रस सर्कल, क्याम्पस इकाइ समितिका सभापति सम्भवकाजी बरालको अध्यक्षतामा भएको थियो ।
पोखरा–१७ का वडा अध्यक्ष राधिकाकुमारी शाहीले विशेष अतिथिको मन्तव्य राख्दै उहाँले क्याम्पसले समाजमा प्रभाव पर्ने किसिसमका कार्यहरु गर्दै आएकोमा खुसी भएको व्यक्त गर्नुभएको थियो । क्याम्पससँग सामाजिक कार्यमा हातेमालो गर्न वडा कार्यालय सदैव तयार रहेको बताउनु भएको थियो । क्याम्पस प्रमुख धर्मराज बरालले समाजमा सकरात्मक प्रभाव पर्ने क्रियाकलाप क्याम्पसले गर्दै जाने कुरामा जोड दिनुभएको थियो ।
जिल्ला रेडक्रस सोसाइटी, कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काले हेनरी ड्यूनाको जन्म दिनको अवसरमा आज जिल्लामा धेरै रक्तदान कार्यक्रम रहेको र क्याम्पसले समेत रक्तदान कार्यक्रमको आयोजना गरेकोमा आफु खुसी भएको बताउनु भएको थियो । जिल्ला रेडक्रस, कास्कीका सदस्य तथा उपशाखा १७ को समन्वयकर्ता बविता सुवेदी र गुप्तेश्वर सिर्जनसिल मञ्चका अध्यक्ष शिवम् शाहीले समेत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी, उपशाखा १७ का कार्यवाहक अध्यक्ष चुणामडी बरालले गर्नुभएको थियो भने रेडक्रसका सात सिद्धान्त वाचन उपशाखा १७ का कार्यवाहक सचिव नारायण अधिकारील गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारी र गुप्तेश्वर सिर्जनसिल मञ्चका सचिव स्मृति थापाले गर्नुभएको थियो भने कार्यक्रममा ३९ जनाले रक्तदान गर्नुभएको थियो ।