पोखरा – गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको व्यवस्थापन तथा नेपाल राष्ट्र बैंक पोखराको आयोजनामा जाली नोट पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०८२ फागुन १३ गते बुधबार गुप्तेश्वर महादेव गुफा परिसरस्थित सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा छोरेपाटन माध्यमिक विद्यालय तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका विद्यार्थी तथा शिक्षकहरू, गुप्तेश्वर गुफामा कार्यरत कर्मचारी, डेभिजफल टोल विकास संस्था, डेभिजफल बचत तथा ऋण सहकारी संस्था तथा इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक केशवप्रसाद तिमल्सिनाले पछिल्लो समय जाली नोटको कारोबार बढ्दै गएको अवस्थामा यस्ता अभिमुखीकरण कार्यक्रमले यसको नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो। उहाँले जाली नोट पहिचान गर्ने तरिका तथा सावधानीका उपायहरूबारे विस्तृत जानकारी दिनुभएको थियो ।
त्यसैगरी गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई यस्ता अभिमुखीकरण कार्यक्रमले जाली नोट पहिचान गर्न सहयोग पुग्ने बताउनुभएको थियो।
कार्यक्रममा ५०० तथा १००० रुपैयाँका जाली नोटहरूको नमूना प्रदर्शन गरिनुका साथै ती नोटहरू सक्कली नोटभन्दा के–कस्ता पक्षमा फरक हुन्छन् भन्नेबारे प्रत्यक्ष रूपमा जानकारी गराइएको थियो। साथै सक्कली नोटमा राखिएका विभिन्न सुरक्षा चिन्हहरूबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर अधिकारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका कोषाध्यक्ष राजन अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य ज्ञाज शर्मा तथा छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा लगायतको उपस्थिति रहेको थियो।