पोखरा, फागुन २९ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । छोरेपाटन मा.वि. को सभाहलमा भएको उक्त कार्यक्रममा कक्षा ११ का विद्यार्थीको सहभागीता रहेको थियो ।
बनविज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक डा. दिपक गौतमले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण, त्यसकार असर र निराकरणका उपायहरुका बारेमा विद्यार्थीहरुलाई सचेतना गराउनु भएको थियो । सहजीकरणका क्रममा डा. गौतमले पृथ्वी सबैको साझा घर भएकाले यसलाई प्रदुषित हुनबाट बचाउनका लागि हरेक नागरिकले आ–आफ्नो तर्फबाट भूमिका खेल्नु पर्ने र त्यसमा विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहने कुरामा जोड दिनुभएको थियो ।
छोरेपाटन मा.वि. का प्र.अ. डिल्लीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन क्याम्पसका उप–प्राध्यापक रामजीप्रसाद पौडेलले गर्नुभएको थियो ।