पोखरा–२३, मंसिर, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा नवआगन्तुक विद्यार्थीका लागि स्वागत् कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री श्रीराम सुवेदीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले शैक्षिक गुणस्तर कायम राख्नका लागि भौतिक तथा शैक्षिक सामग्रीको व्यवस्थापन गनुपर्ने विषयमा समिति सधै तत्पर रहेको साथै समय सापेक्ष अनुसार शिक्षकहरु समेत अपडेट हुनपर्ने विषयमा जोड दिनु भएको थियो । उहाँले क्याम्पसको तर्फबाट विद्यार्थीहरुको सेवा सुविधालाई सञ्चालक समितिले प्राथमिकतामा राख्ने विषय समेत राख्नु भएको थियो ।

त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथि तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री ऋतुनाथ लम्सालले विद्यार्थीका जायज माग पुरा गर्न सञ्चालक समिति सधै तत्पर रहेको कुरा राख्नु भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख श्री धर्मराज बरालले गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पसका रुपमा स्थापित यस क्याम्पसले आफ्ना शैक्षिक नतिजाहरु उत्कृष्ट बनाउन सफल भएको साथै विद्यार्थीहरु अध्ययन गर्दा गर्दै विदेशीनु भविष्यको लागि घातक हुने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले क्याम्पसले आफ्नो गतिविधिलाई प्रविधियुक्त बनाउदै गएको विषय समेत राख्नु भएको थियो ।

नवआगन्तुक विद्यार्थीको तर्फबाट स्वस्तीका सुवेदी, सगुन परियार, सागर अधिकारी र दिव्या थापाले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा व्याण्डको प्रस्तुती समेत रहेको थियो ।
गुप्तेश्वर सिर्जनशिल मञ्चका प्रवेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी प्रविन चापागाईले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव स्मृति थापाले गर्नुभएको थियो ।