गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको समुद्घाटन
पोखरा, मंसिर १२ गते शुक्रबार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको पुस्तकालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले ताम्रपत्र अनावरण गरी तथा रिवन काटी पुस्तकालय भवनको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले क्याम्पसमा सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था रहेकाले ज्यादै खुसी भएको व्यक्त गर्नुभएको थियो । पहिलेका पुस्ताले भन्दा अहिलेका पुस्ताले शिक्षामा आधुनिक तवरले अध्ययन गर्ने अवसर प्राप्त भएकाले त्यस्ता अवसरहरुलाई पूर्णरुपमा प्रयोग गर्नका लागि विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुभएको थियो । क्याम्पसले स्थापना पश्चात् छोटो समयमानै धेरै प्रगति भएको बताउदै उहाँले नेपालको उच्चशिक्षालाई व्यवस्थित बनाउनका लागि विश्वविद्यालय अनुदान आयोग लागि परेको कुरा समेत बताउनु भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गुणस्तरीय शिक्षाका लागि क्याम्पस सञ्चालक समिति लागि परेको कुरा राख्नु भएको थियो । साथै क्याम्पसको विकासमा विश्वविद्यालय अनुदान आयोग, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, स्थानिय निकाय र सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो । अध्यक्ष सुवेदीले समुदायसँग समन्वय गरी क्याम्पसलाई अगाडि बढाउदै आएको कुरा व्यक्त गर्नुभएको थियो । साथै उहाँले क्याम्पसको विकासका लागि स्थापनाकाल देखि महत्वपूर्ण योगदान पु¥याउनुहुने संस्थापकहरु, पूर्व समितिहरु, गुफा व्यवस्थापन समिति, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, विद्यार्थीहरु, शिक्षक तथा कर्मचारी लगाएत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मन्तव्यकै क्रममा पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिकाकुमारी शाहीले क्याम्पसका हरेक विकासका कार्यमा वडा कार्यालयले समन्वयात्मक भूमिका निर्वाह गर्दैै आएको र अबका दिनमा पनी वडा कार्यालयले सहयोग गर्दै आउने कुरा राख्नु भएको थियो । साथै उहाँले क्याम्पसले उच्चशिक्षामा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले गुप्तेश्वर महादेव गुफा वि.सं. २०६४ मा क्याम्पस सञ्चालनको अवधारण ल्याई सञ्चालन गरेको क्याम्पस आज प्रगतिको पथमा अघि बढ्नु समग्र समाज र राष्ट्रका लागि गौरवको विषय रहेको बताउनु भएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसको अनुसन्धान कार्यहरु, अध्यापन, सामाजिक उत्तरदायित्व, क्याम्पसका भौतिक पक्ष लगाएतका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।