पोखरा, भाद्र ६ गते । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको आयोजनामा एक दिवसीय ‘‘शिक्षा क्षेत्रको भविष्यको लागि गतिशित नेतृत्व’’ विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कास्की तथा स्याङ्गजा जिल्लाका २५ वटा नीजि तथा सरकारी विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधि सहित ५३ जना शिक्षकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनु भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले यस क्षेत्रमा उच्च शिक्षाको विकास गर्न, उच्च शिक्षालाई सहज तथा पाएक पार्नका लागि समुदायले क्याम्पस सञ्चालन गरेको बताउनु भएको थियो । साथै उहाँले समुदायका आमा समुह, विद्यालय, क्लब, स्थानिय निकायसँग सहकार्य गरी क्याम्पसले आफ्ना शिप तथा क्षमता बाड्दै आएको र भविष्यमा समेत यसरी नै समुदायसँग सहकार्य गर्ने बताउनु भएको थियो । क्याम्पसले विद्यालयको सिफारीसमा गरिब तथा असाह्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको कुरा बताउनु भएको थियो ।
कार्यक्रमको सहजिकरण गर्दै त्रिभुवन विश्वविद्यालयका प्रा.डा. प्रदिपचन्द्र गौतमले विद्यालयका चुनौती, अवसर, लक्ष्य, उद्देश्य, नेतृत्वका गुणहरु सम्बन्धी सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यालयका सफल कथाहरु माथि छलफल गराउँदै विद्यमान अवस्थामा शैक्षिक नेतृत्वले खेल्नु पर्ने भूमिका सम्बन्धी छलफल सञ्चालन गर्नुभएको थियो ।
सहजकर्ताकै भूमिकामा आदिकवी भानुभक्त क्याम्पसका सह–प्राध्यापक महाप्रसाद हड्खलेले क्याम्पस र विद्यालय विच सहकार्य गर्नुपर्ने विषयमा विशेष जोड दिनुभएको थियो । उहाँले क्याम्पस र विद्यालय विच सहकार्य गरी विभिन्न शैक्षिक प्रदर्शनी गर्न सकिने, विद्यालयले अब शैक्षिक परीक्षण गर्नुपर्ने, गरिब तथा असाह्य विद्यार्थीलाई पढ्न बन्चित नहुन विशेष योजना बनाएर अघि बढ्नु पर्ने विषयमा छलफल गर्दै सहजीकरण गर्नुभएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उहाँले विद्यालय र क्याम्पस विच सहकार्य गरी शिक्षालाई गुणस्तरी बनाउनका लागि समय समय अनुसार विद्यालयसँग छलफल गरिने बताउनु भएको थियो ।
सहभागी विद्यालयको तर्फबाट छोरेपाटन मा.वि.का प्रधानाध्यापक डिल्लीराज शर्माले नेतृत्व विकाससँग सम्बन्धित पर्याप्त ज्ञान प्राप्त भएको बताउनु भएको थियो । त्यसै गरी पद्युम्न पनेरु मा.वि.का प्रधानाध्यापक दिप्तिनारायण शर्माले जिवनैमै उत्कृष्ट कार्यक्रममा भाग लिन पाउँदा खुसी लागेको तथा क्याम्पससँग सहकार्य गर्न तयार गरेको बताउनु भएको थियो ।
त्यसै गरी एक्स आर्मी पब्लिक मा.वि. का प्रधानाध्यापक मोहनलाल पौडेलले क्याम्पससँग सहकार्य गर्दै जाने र कार्यक्रम सफल भएको बताउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य इ.ओ.सि. संयोजक दुर्गाना पौडेलले गर्नुभएको थियो भने क्याम्पसका गतिविधि सम्बन्धी आइ.क्यू.ए.सी. राजकुमार सुवेदीले जानकारी गराउँनु भएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।