गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा Graduate Conference on Paradigm Shift in Management कार्यक्रमको समापन, जनमैत्री क्याम्पससँग सहकार्यको सम्झौता ।
पोखरा, जेठ २० गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा तिन दिवसीय Graduate Conference on Paradigm Shift in Management कार्यक्रमको सोमबार समापन भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यक्रममा व्यवस्थापन संकायबाट स्नातकोत्तर तह उत्र्तीण भएका ३१ जना विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राधेश्याम प्रधानले यस्ता कार्यक्रममा विद्यार्थीहरुको लागि कार्यपत्र प्रस्तुत गर्ने अवसर प्रदान गर्नुले क्याम्पस धन्यवादनको पात्र बनेको बताउनु भएको थियो । डा. प्रधानले विद्यार्थीले कार्यपत्र प्रस्तुत गरिरहदा आफ्ना सुधारात्मक पक्षहरु पहिचान भएकाले आगामी दिनमा अनुसन्धानात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने बताउनु भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसले विद्यार्थीलाई समेत अनुसन्धान कार्यमा सहभागी गराई नयाँ कार्यको थालनी गरेको बताउनु भएको थियो । विद्यार्थीका लागि यस्ता अवसर क्याम्पसले आगामी दिनमा समेत उपलब्ध गराउदै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा विषय विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्व डीन प्रा.डा. डिल्लीराज शर्माले मेहनत विना कुनै पनी अनुसन्धान कार्यमा अघि बढ्न नसकिने भएकाले विद्यार्थीले मेहेनत गर्नुपर्ने कुरा बताउदै विद्यार्थीको पहिलो अनुभव भएतापनी प्रस्तुत भएका कार्यपत्रहरु उत्कृष्ट रहेको बताउनु भएको थियो ।
कार्यक्रममा विषय विज्ञका रुपमा रहनु भएका प्रा.डा. विकासकुमार के.सि.ले अनुसन्धान गर्दा ख्याल गर्नुपर्ने विषयवस्तु, चुनौती सहित तौरतरीका बारे आफ्ना कुराहरु राख्नुभएको थियो । विषय विज्ञ तथा कार्यक्रमका अतिथि सह–प्रा.डा. भरतसिंह थापाले यात्रामा पहिलो पाइलानै सुरुवात भएजसरी विद्यार्थीको अनुसन्धानात्मक कार्यमा यो पहिलो पाइला टेकी यात्रा प्रारम्भ गर्नुभएकाले खुसी भएको कुरा व्यक्त गर्नुभएको थियो ।
सहभागी क्याम्पसको तर्फबाट जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले सामुदायिक क्याम्पसहरु सँगै सहकार्य गरी अनुसन्धान कार्यलाई संयुक्त रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
सहभागी विद्यार्थीको तर्फबाट आदिकवी भानुभक्त क्याम्पस तनहुँकी विद्यार्थी रमिता पौडेलले गुप्तेश्वर क्याम्पसले गरेको यो कार्यक्रमबाट हामी विद्यार्थीलाई महत्वपूर्ण स्थान दिनुभएकोमा धन्यवादन ज्ञापन गर्दै हामीलाई अनुसन्धानात्मक कार्यमा लाग्नका लागि ठूलो प्रेरणा मिलेको बताउनु भएको थियो ।
उक्त कार्यक्रमका विच जनमैत्री क्याम्पस, काठमाण्डौं र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस विच सहकार्य गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा जनमैत्री क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख भोला ओझा र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज बरालले दस्तखत गर्नुभएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा, जनप्रिय बहुमुखी क्याम्पस पोखरा, आदिकवी भानुभक्त क्याम्पस तनहुँ, म्याग्दी बहुमुखी क्याम्पस म्याग्दी, जनमैत्री क्याम्पस, काठमाण्डौ, कन्या क्याम्पस पोखरा, मकवानपुर बहुमुखी क्याम्पस हेटौडा सहित सात वटा क्याम्पसका ३१ जना विद्यार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तथा अनुसन्धान विभागका संयोजक मोहन भण्डारीले सञ्चालन गर्नुभएको थियो भने प्राविधिक सत्रको समन्वय शिक्षक मनोरन्ज शर्मा, सुरेन्द्र कार्की, योगराज शर्मा र प्रकाशचन्द्र गिरीले गर्नुभएको थियो ।