पोखरा, जेठ १७ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा Graduate Conference on Paradigm Shift in Management कार्यक्रम प्रारम्भ भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यक्रममा व्यवस्थापन संकायबाट स्नातकोत्तर तह उत्तिर्ण भएका विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राधेश्याम प्रधानले कार्यपत्र प्रस्तुत गर्नाले विद्यार्थी तथा शिक्षकको सोचमा परिवर्तन ल्याइ समाज परिवर्तनमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसले अनुसन्धान कार्यमा भरपुर सहयोग गर्ने साथै विभिन्न क्याम्पसहरुसँग सहकार्य गरी अनुसन्धानमुखी क्रियाकलापलाई अगाडि बढाउन आफु लागी परेको बताउनु भएको थियो । साथै उहाँले अनुसन्धान कार्यले विद्यार्थी तथा शिक्षकको बौद्धिक विकासमा टेवा पुग्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा विषय विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका पूर्व डीन प्रा.डा. डिल्लीराज शर्मा, पोखरा विश्वविद्यालयका सह–प्रा.डा. सुर्यबहादुर जि.सी., सह–प्रा.डा. भरतसिंह थापाले व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीहरुको भूमिका, भविष्य, कर्तव्य जस्ता विषयमा आफ्ना कुरा राख्नु भएको थियो ।
कार्यक्रममा क्याम्पसको प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोला, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. यामबहादुर सिलवाल, आदिकवी भानुभक्त बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा, जनप्रिय बहुमुखी क्याम्पस पोखरा, मध्यविन्दु बहुमुखी क्याम्पस नवलपरासी, आदिकवी भानुभक्त क्याम्पस तनहुँ, म्याग्दी बहुमुखी क्याम्पस म्याग्दी, जनमैत्री क्याम्पस, काठमाण्डौ, कन्या क्याम्पस पोखरा, मकवानपुर बहुमुखी क्याम्पस हेटौडा सहित आठ वटा क्याम्पसका ३६ जना विद्यार्थीले कार्यपत्र प्रस्तुत गर्ने छन् । विद्यार्थीले प्रस्तुत गरेका विषयमाथि विषय विज्ञ तथा सहभागीले उठाएका जिज्ञासा माथि विद्यार्थीले जवाफ दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य क्याम्पस प्रमुख धर्मराज बरालले राख्नु भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख तथा अनुसन्धान विभागका संयोजक मोहन भण्डारीले सञ्चालन गर्नुभएको थियो भने प्राविधिक सत्रको समन्वय शिक्षक मनोरन्ज शर्मा, सुरेन्द्र कार्की, योगराज शर्मा र प्रकाशचन्द्र गिरीले गर्नुभएको थियो ।