गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन, यसका कारण तथा प्रभाव विषयक कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले जलवायु परिवर्तन आजको जल्दोबल्दो समस्या भएको र यसको असरको बारेमा जानकारी लिएर यसलाई न्यूनीकरण गर्ने उपायहरु अवलम्बन गर्दै जानुपर्ने बताउँनु भएको थियो । उहाँले यस्ता कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागीता भइ लाभन्वित हुन सक्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहजकर्ता एवम् विषयविज्ञको भूमिकामा रहनु भएका प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशका पूर्व सदस्य डा. सुवास अधिकारीले जलवायु परिवर्तनको विश्वव्यापीकरण, यसको प्रभाव देखि दक्षिण एसियाली तथा नेपालको र गण्डकी प्रदेशको सन्दर्भमा यसको कारण, प्रभावसँगै यसलाई न्यूनीकरण गर्ने उपाय र अनुकुलित कसरी हुने भन्ने विषयमा प्रस्तुती राख्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक एवम् कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रम इ.सि.ओ. संयोजक दुर्गानाथ पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रकाशचन्द्र गीरिले गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख रामजीप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।