पोखरा, वैशाख २४ गते बुधबार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको सहकार्य, अन्नपूर्ण गाउँपालिका महिला सञ्जाल, वडा नं. १ को आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा एक हप्ते पाक शिक्षा तालिमको प्रारम्भ भएको छ । कार्यक्रमको अध्यक्षता अन्नपूर्ण गाउँपालिका, महिला सञ्जाल वडा नं.–१ की अध्यक्ष हरिकुमारी खत्रीले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णुबहादुर के.सी.ले यस पाक शिक्षाबाट सिकेका कुराहरु आफ्नो भान्छासम्म पुग्नु पर्ने बताउनु भएको थियो । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले अन्नपूर्ण गाउँपालिकामा आएर महिलाहरुलाई सिप सिकाएर अन्नपूर्ण गाउँपालिकालाई गुन लगाएकाले क्याम्पसलाई गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले यस क्याम्पस सामुदायिक क्याम्पस भएकाले समुदाय प्रतिको उत्तरदायित्व बहन गर्ने मौका प्राप्त भएको बताउनु भएको थियो । उहाँले गण्डकी प्रदेशमै त्रिभुवन विश्वविद्यालयको एकमात्र होटेल व्यवस्थापन अध्यापन हुने क्याम्पस भएको र तालिम पश्चात् घर परिवार वा छरछिमेकमा मिठो परिकार बनाएर खुवाउने मात्र नभइ व्यवसायिक रुपमा आर्थिक उपार्जनमा लागेमा तालिमको सार्थकता रहने कुरामा जोड दिनुभएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसले यस्ता किसिमका कार्यक्रमहरु अन्य समुदायमा समेत गर्दै आइरहेको र क्याम्पसका गतिविधि एवम् शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । साथै गाउँपालिकासँग सम्झौता गरि विभिन्न क्षेत्रमा काम गर्न क्याम्पस तयार रहेको साथै क्याम्पससँग भएका क्षमताहरु यस समुदायमा बाड्न क्याम्पस इच्छुक रहेको बताउनु भएको थियो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोख्रेलले घरभित्र संस्कारी, स्वच्छ, स्वस्थकर परिकार बनाउन तथा व्यवसायीक बन्न तालिमबाट प्रेरणा मिल्ने कुरामा विश्वस्त रहेको बताउनु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाकी महिला सञ्जालकी अध्यक्ष कमला के.सी., जिल्ला समन्वय समिति, कास्कीका सदस्य बालिका सुवेदी, अन्नपूर्ण गाउँपालिका वडा नं. ७ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ, सोहि गाउँपालिका वडा नं. १ का अध्यक्ष तुलसीप्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा क्याम्पसको तर्फबाट विष्णुबहादुर के.सी., तुलसीप्रसाद अधिकारी, विष्णुप्रसाद पोख्रेल, भरतमान गुरुङ र कमला के.सीे.लाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन अन्नपूर्ण गाउँपालिका वडा नं. १ का महिला सञ्जालकी सचिव तारा सुवेदीले गर्नुभएको थियो भने उक्त तालिममा एक हप्तासम्म क्याम्पसका सेफ प्रकास अर्यालले परिकारहरु बनाउन सिकाउनुहुने तथा तालिममा करिब ४० जना महिलाहरुको सहभागीता रहने शिक्षक तथा इ.ओ.सी.संयोजक दुर्गानाथ पौडेलले बताउनु भएको थियो । कार्यक्रमको समन्वय क्याम्पसका शिक्षक तथा आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीले गर्नुभएको थियो ।