पोखरा, पौष २१ गते, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको आयोजनामा महिलाहरुको लागि व्यवसायिक (पाक शिक्षा) सम्बन्धी एक हप्ते तालिम आइतबारदेखि सञ्चालन भएको छ । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका पोखरा म.न.पा., वडा नं.–१७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले कार्यक्रमको उद्घाटन गर्दै महिला दिदी बहिनीले हिजोसम्म पकाउदै आउनु भएका खानाका परिकारहरु अब भिन्न तरिकाले बनाउन सक्नुहुने तथा खानामा के कस्ता पौस्टिक आहार हुन्छन भन्ने बारेमा ज्ञान प्राप्त गर्नुहुने आशा व्यक्त गर्नुभएको थियो । उहाँले महिला दिदी बहिनीले त्यसरी पाक शिक्षाबारे ज्ञान प्राप्त भएपछि कुनै आयमुलक कार्य गर्न इच्छुक भएमा वडा नं. १७ ले गर्न सक्ने हातोमालो तथा सहयोग गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले क्याम्पसमा भएका स्रोत साधन तथा क्याम्पसले प्रदान गर्न सक्ने ज्ञान, सिप अब समुदायमा पनि प्रयोग गर्नुपर्छ भन्ने मान्यताका साथ यस कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो । उहाँले यस पाक शिक्षा तालिमबाट भरपुर शिक्षा लिन समेत आग्रह गर्नुभएको थियो । साथै उहाँले अन्य सामाजिक संघसंस्थासँग समन्वय गरि भविष्यमा यस्ता कार्यक्रमहरु क्याम्पसले प्रदान गर्दै जाने बताउनु भएको थियो ।
क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै क्याम्पस सामुदायिक भएकाले समुदायसँग हातेमालो गर्न तथा समुदायसँग मिलेर अघि बढ्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट शीतलपथ महिला समुहका अध्यक्ष बिन्दु कार्कीले क्याम्पसले महिला दिदी बहिनीहरुलाई पाक शिक्षामा क्षमता अभिवृद्धि गर्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत महिला समुहको विकासलाई क्याम्पसले अन्य गतिविधि प्रदान गर्ने अपेक्षा गर्नुभएको थियो ।
पोखरा–१७ भित्र रहेका १८ महिला समुहबाट ३६ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा वी.एच.एम. कार्यक्रम संयोजक जितेन्द्र थापा र सेफ प्रकाश अर्यालले सहजीकरण गर्नुहुनेछ । कार्यक्रमको सञ्चालन इ.ओ.सी. संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो ।