पोखरा, पुष ५ शुक्रबार, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको १५ औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थापक सल्लाहकार तथा शिक्षासेवी पिताम्बर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले नेपालको वर्तमान शिक्षाप्रणालीले देशको उत्थान गर्न नसकेको कुरा बताउनु भएको थियो । वर्तमान अवस्थामा रोजगारीमुलक तथा जिविकोपार्जन गर्न सक्ने शिक्षा प्रणालीको विकास हुन पर्ने बताउनु भएको थियो । राजनीतिले शिक्षा सुधार गर्न नसकेको समेत उहाँले बताउनु भएको थियो । क्याम्पसको नतिजा तथा विकास देख्दा क्याम्पस उत्कृष्ट मार्गमा रहेको विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले संस्था प्रति उठेका प्रश्न तथा जिज्ञासाहरु संस्थाप्रति चिन्तन भएर उठेको बताउनु भएको थियो । क्याम्पसको सर्वाङ्गिण विकासका लागि सवै क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने तथा पेश भएका आगामी कार्यक्रमहरुलाई सचेतता पूर्वक कार्यान्वयन गर्ने कुरामा जोड दिनु भएको थियो । क्याम्पसमा अनुसन्धानमुलक कार्यलाई प्राथमिकता राखि क्याम्पसको विकासको लागि सञ्चालक समिति पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको थियो । शिक्षक तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सदैव सचेत रहेको समेत उहाँले बताउनु भएको थियो ।
पोखरा–१७ का वडाअध्यक्ष राधिका कुमारी शाहीले क्याम्पसमा अध्ययनसँगै रोजगारीमुलक तथा शिपमुलक शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको थियो । वडा भित्र रहेका विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी अगाडि बढाउन आफुले हातेमालो गर्दै क्याम्पसको विकासको लागि वडा नं. १७ सधै तयार रहेको बताउनु भएको थियो ।
प्रमुख संरक्षक संस्था श्रीगुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले २०६४ सालमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अवधारणाबाट स्थापित यस क्याम्पसको प्रगति देख्दा गुफाको अवधारण सफल भएको बताउनु भएको थियो ।
निर्वमान अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले क्याम्पसको भौतिक संरचना राम्रो भएका र अब शिक्षाको स्तरलाई अझ वृद्धि गर्नुपर्ने बताउनु भएको थियो । शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई अनुसन्धानात्मक कार्यमा जोड्न अपरिहार्य रहेको बताउनु भएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष युवराज लामिछाने ‘‘युवक’’ ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनहरु साधारण सभाले पारित गरेको थियो ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघको उप–महासचिव सुदिप प्रधानाङ्ग, क्याम्पस सिनेटरहरू लक्ष्मण थापा, हरि वास्तोला, विजय अर्याल, विजयराज आचार्य, राजन अधिकारी, बालकृष्ण सुवेदी, उत्तम सिग्देल, सुर्यप्रसाद पौडेल, झविश्वर रेग्मी, चिजकाजी गुरुङ, सुनकुमारी गुरुङले समेत बोल्नु भएको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले स्वागत् मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ बरालले गर्नु भएको थियो ।