पोखरा, असोज ५ शनिबार । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा एक दिवसीय ‘‘शिक्षकको मनोबल बढाउने’’ कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. प्रदिपचन्द्र गौतमको प्रमुख आतिथ्यता तथा सहजीकरणमा भएको कार्यक्रममा उहाँले शिक्षकहरु योग्यताका साथै अपडेट हुनुपर्ने कुरा बताउनु भएको थियो । शिक्षकको मनोवल उच्च छ भने उसले विषयवस्तुको खोजी गर्छ, मेहनत गर्छ, छलफल गर्छ जब मनोवल नै कमजोर छ भने उसले नयाँपन दिन सक्दैन भन्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले आफैले आफैलाई नियन्त्रण गर्नु र नीति नियममा रहि आफैलाई निर्देशित गर्नु नै अनुशासन हो भनी बताउनु भएको थियो ।
स्वागत् मन्तव्य राख्दै क्याम्पस प्रमुख धर्मराज बरालले शिक्षक तथा कर्मचारीले यस कार्यक्रमबाट धेरै लाभ लिन सकिने र जानेका विषयवस्तु व्यवहारमा प्रयोग गर्नुपर्ने बताउँदै सहभागीलाई मन्तव्यद्वारा स्वागत् गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि नेपाल पब्लिक क्याम्पस संघ, गण्डकी प्रदेशका अध्यक्ष तथा जनप्रकाश क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले शिक्षकले मनोबल बढाउने विषय निरन्तर गरिरहनुपर्ने तथा आफैले आफ्ना व्यवहार परिवर्तन गर्नूपर्ने अरुले गाइड मात्र गर्ने विषय रहेको बताउनु भएको थियो । साथै उहाँले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस शिक्षा दिवसको अवसरमा गण्डकी प्रदेशमै उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएकोमा हार्दिक बधाई समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारी, जनप्रकाश क्याम्पस र कन्या क्याम्पस पोखरा र छोरेपाटन मा.वि.का शिक्षक प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
क्याम्पसका आइ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा उहाँले विद्यार्थीसँग परिचय मात्र नभै घुलमिल हुन सक्नुपर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई क्याम्पस प्रमुख धर्मराज बराल र अतिथि ऋषिराम बुढाथोकीले मायाको चिनो प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।