पोखरा, भाद्र २६, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्यू.ए.ए. सम्बन्धी कार्यहरु के–कसरी गर्ने भन्ने विषयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले शैक्षिक गुणस्तर मापन, परिक्षाको नतिजासँगै विद्यार्थीको क्षमतामा सकारात्मक परीवर्तन आउनुपर्ने विषय राख्नु भएको थियो । साथै उहाँले क्याम्पस सञ्चालक समिति, शिक्षक तथा कर्मचारीको संयुक्त प्रयासले मात्रै अघि बढ्न सकिने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा क्याम्पसको प्रमुख संरक्षक संस्था श्री गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्षुमण वास्तोलाले क्याम्पसको वृहत्तर विकासमा गुफा सधै हातेमालो गर्न तयार रहेको बताउनु भएको थियो । उहाँले गुफाद्वारा स्थापित गरिएको यस क्याम्पसको प्रगतिबाट खुसी लागेको कुरा बताउनु भएको थियो ।
क्याम्पस प्रमुख धर्मराज बरालले कोभिडको विषम परिस्थितिमा प्राप्त गरेको क्यू.ए.ए. को दोस्रो चक्रमा प्रवेश गर्दै गर्दा यस क्याम्पसको छवि उत्कृष्ट क्याम्पसको रुपमा स्थापित हुँदै गएको बताउनु भएको थियो । भौतिक तथा शैक्षिक उन्नतीलाई कायम राख्दै अझै प्रगति पथमा लम्किन क्यू.ए.ए. को नविकरण कार्यमा क्याम्पस अब्बल हुने विचार राख्नु भएको थियो ।
सहजकर्ताका रुपमा रहनु भएका नारायणप्रसाद भण्डारीले एस.एस.आर. को नयाँ वेन्चमार्कमा कसरी कार्य गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष आइ.क्यू.ए.सी. का संयोजक राजकुमार सुवेदीले सहजकर्ताले उठाएका विषयवस्तु माथि हामीले अझ व्यवस्थित तवरले कार्य सम्पादन गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
कार्यक्रममा धन्यवादन ज्ञापन क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।