पोखरा, असार १५
अन्नपूर्ण गाउँपालिकामा कार्यरत विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि कक्षा कोठामा कृत्रिम बुद्धिमत्ता (AI) का उपकरणहरूको प्रभावकारी प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
‘Chalkboards to Chatbots’ शीर्षकमा आयोजित उक्त तालिम अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तथा पोखरा–१७, छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका करिब ५० जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी ले गाउँपालिका र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबिच भएको समझदारीअनुसार यसअघि महिला समूहलाई लक्षित गरी एक साताको पाककला तालिम सफलतापूर्वक सम्पन्न भइसकेको स्मरण गराउनुभयो। वर्तमान समय सूचना प्रविधिको युग भएकाले शिक्षकहरू कृत्रिम बुद्धिमत्तासँग अभ्यस्त हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले एआईमा आधारित शैक्षिक सामग्रीलाई कक्षा कोठामा प्रभावकारी रूपमा प्रयोग गर्न यस तालिमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समिति (IQAC) का प्रमुख राजकुमार सुवेदी ले गाउँपालिका र क्याम्पसबिचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउँदै यस्ता कार्यक्रमले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गर्नुभयो।
तालिमको सहजीकरण डा. भरत प्रसाद न्यौपाने ले गर्नुभएको थियो। उहाँले कक्षा शिक्षण, पाठ योजना निर्माण, सिकाइ सामग्री विकास, मूल्याङ्कन तथा विद्यार्थी–केन्द्रित शिक्षण प्रक्रियामा एआई उपकरणहरूको सुरक्षित, प्रभावकारी र सिर्जनात्मक प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल ले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वागत मन्तव्य वडा नं. १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी ले राख्नुभएको कार्यक्रमको सञ्चालन गाउँपालिकाकी सहायक शिक्षा अधिकृत निर्मला खड्का ले गर्नुभएको थियो।
गाउँपालिकाले विद्यालय शिक्षामा सूचना प्रविधिको प्रभावकारी उपयोग, शिक्षकहरूको डिजिटल क्षमता विकास तथा आधुनिक शिक्षण–सिकाइ प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।